
नेपालको दोस्रो ठूलो हलचेन आईएनआई सिनेमाज ले आफू अन्तर्गतका हलमा दर्शकको गोपनीयताको हकको सम्मानका लागि भन्दै व्यवसायिक रूपमा क्यामेरा तथा बुम प्रयोग गर्न निषेध गर्ने निर्णय गर्यो।
निर्णय लगत्तै दर्शकसँगसँगै नेपाली फिल्मकर्मीहरूले पनि यसमा सहमति जनाए।
यस सिलसिलामा सबैभन्दा अगाडि देखिएका थिए निर्देशक दिपेन्द्र के. खनाल।
हाल ‘क्याप्टेन साब’ नामक बायोपिकमा व्यस्त रहेका यी निर्देशकले आइएनआइ सिनेमाजको कदमलाई स्वागत गर्दै फेसबुक स्टाटसमा लेखे — “सही निर्णय, अरु हलहरूले पनि गर्नु पर्छ।”
तर, यो निर्णयपछि धेरैले पत्रकारप्रति आक्रोश पोख्दै यस्ता–उस्ता टिप्पणी गरे। तर वास्तविकता के हो भने कुनै पनि मेकरहरूले आफ्नो फिल्म हाउसफुल भएको वा दर्शकले मन पराएको देखाउन पत्रकारलाई फोन गरेर हलमा बोलाउँछन्। मेकरले नगरेसम्म पत्रकार स्वयं हलमा गएर दर्शकलाई असजिलो पार्ने गरेका छैनन्।
यही कारण यो निर्णयमा दिपेन्द्र के. खनालको स्टाटसले पत्रकारलाई अचम्ममा पार्यो।
किन भने, उनको पछिल्लो फिल्म के घर के डेरा–२ को बेलामा समेत पत्रकारलाई नियमित रूपमा हलमा बोलाइएको थियो— “यति बजे यो हल, यतिबजे त्यो हल” भन्दै। अघिल्ला फिल्महरूमा पनि त्यस्तै गरिएको थियो।
त्यस्ता हल रिपोर्टको भिडियो फुटेज दिपेन्द्रकै फेसबुकवालमा पोस्ट भएको देखिन्छ।
अब प्रश्न उठ्छ — अहिले निषेध गर्ने निर्णयलाई “ठिक” भन्ने दिपेन्द्रले त्यतिबेला किन “बेठिक” काम गरेका थिए?
उनको यो ‘दुई जिब्रे शैली’ ले पत्रकारलाई झन् अचम्ममा पारेको छ।
दिपेन्द्रजी! कुनै पनि कुरा आफ्नो अनुकूल हुँदा मात्र “ठिक” भन्नु, र अर्को समयमा त्यही कुरा “बेठिक” भन्नु—के यो उचित हो?
कम्तिमा तपाईं जस्तो निर्देशकले यी विषयमा स्थिर अडान लिनुभएको भए अझ उपयुक्त हुने थियो।
अब टिप्पणी गरिसक्नुभयो, ठीकै छ। तर, अब हामी आशा गर्छौं—तपाईंले आफ्नो स्टाटसमा “हामी मेकर पनि उत्तिकै जिम्मेवार छौं” भन्ने स्वीकारोक्ति पनि दिनुहुनेछ।
यद्यपि पछिल्लो समय दिपेन्द्रका फिल्महरू विवादमा तानिँदै आएका छन्। यसकारण उनको यो स्टाटस नौलो भने होइन।
उनीले अत्यन्त प्रेरणादायी भनेर बनाएको बायोपिक “मेयर” का नायक भरत थापा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएपछि फिल्मको रिलिज नै अनिश्चित भएको छ।
त्यो मात्र होइन, अहिले उनले बनाइरहेको “क्याप्टेन साब” मा पनि केही पत्रकारले आफ्ना पूर्व मालिकबाट पाउनुपर्ने पारिश्रमिक नपाएको प्रसंगलाई फिल्ममै समावेश गर्नुपर्ने व्यंग्य गरेका छन्।
आशा गरौँ, आगामी दिनमा दिपेन्द्रले कुनै टिप्पणी गर्नु अघि आफूलाई पनि सो टिप्पणीमा कसरी उत्रिन सकिन्छ भन्नेबारे सोच्नेछन्। असोज १३ गते रिलिज हुने “हरिबहादुरको जुत्ता” मा उनले के गर्छन्—त्यो समयले देखाउनेछ।