
निर्देशक खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘रिमै’को मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्तसँगै छायांकन सुरु भएको छ। निर्देशक गुरुङका अनुसार मुहूर्त समारोहपछि सिनेमा निर्माणको औपचारिक थालनी भएको हो।
सिनेमाको पहिलो सट अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङले दिएका छन्। आगामी एक महिनासम्म गोरखाको सिरानचोक, झार गाउँ, कुल गाउँ, भंगेरी, लासे, सिम्ले, गोहरे, चित्रेपोखरी र गोर्खा बजारमा सिनेमाको छायांकन हुने जानकारी गराइएको छ।
‘रिमै’ गोरखा सिरानचोक एण्ड लिगगिगकोट फिल्मस् प्रालीको प्रस्तुति हो, जसलाई आरआर फिल्मस् र रोटेपिङ इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गर्दैछन्। प्रस्तुतकर्ता रोहित कट्टेल रहेका सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन्।
सिनेमामा दयाहाङ राई र रिस्मा गुरुङसँगै बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिबी गुरुङलगायतका कलाकारको अभिनय समेटिनेछ। निर्मातामा वीरवल घले, टिका गुरुङ र दुनबहादुर घले छन् भने सहनिर्मातामा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे रहेका छन्।
उपेन्द्र सुब्बाको लेखनमा आधारित यो सिनेमाको छायांकन शैलेन्द्र ध्वज कार्कीले गर्नेछन्। सिनेमाका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई, प्रोडक्सन म्यानेजर बिष्णु मैनाली, र सम्पादक मित्र डि गुरुङ रहनेछन्। यस सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ।