
गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ।
वीक डेजमा समेत राम्रो व्यापार गर्दै आएको यो सिनेमाले आज नेपालगञ्जमा सर्वाधिक शोज पाएको छ।
बाँकेको नेपालगञ्जस्थित दुई प्रमुख हल – सिने रोयल र क्युएफएक्स बागेश्वरीले ‘ह्रस्व दीर्घ’लाई १५ शोज उपलब्ध गराएका छन्। यी सबै शो सोल्ड आउट भइका छन्। सिने रोयलले १० शो र क्युएफएक्स बागेश्वरीले ५ शो उपलब्ध गराएको छ। बिहानी शोबाटै सिनेमालाई उल्लेख्य साथ मिलेको छ।
सिनेमाको दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको अवस्था निर्माण टिम आज नेपालगञ्ज पुगेको छ।
टोलीमा सिनेमाकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त नेपालगञ्ज पुगेका छन्। निर्देशक पन्तले प्रदीप सिंह रावत नेपालगञ्जबाट भारत फर्किने जानकारी दिएका छन्।
यसैबीच, निर्माण पक्षले आफ्नो सिनेमाको ४ दिने बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ। उनीहरुका अनुसार सिनेमाले ४ दिनमा ३ करोड ६५ लाखको ग्रस कलेक्सन गरेको छ । यो जानकारी सिनेमाका वितरक मनोज राठीले जानकारी दिएका हुन्। शुक्रबार सिनेमाले ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाखको कलेक्सन गरेको उनको भनाइ छ।
मंगलबार, सिनेमामा समावेश नयाँ गीत ‘जपिँदैन हरि’ सार्वजनिक गरिएको थियो।
प्रेमभाव व्यक्त गर्ने यस गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर, प्रतिक पौडेलको शब्द रचना र संगीत रहेको छ। यस गीतको भिडियोमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनाल फिचर्ड छन्, जहाँ नीता र हरिहर रोमान्टिक अवतारमा देखिएका छन्।
नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो सिनेमाको कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहर अधिकारीको पटकथा र संवाद रहेको सिनेमामा बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका छन्।
चन्द्र पन्तको निर्देशनमा बनेको यो सिनेमाले नेपाली सिनेमा उद्योगमा नयाँ पाटो थपेको छ। पन्तले यसअघि केही भोजपुरी सिनेमाको निर्देशन र पाँच दर्जन भन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकको रुपमा काम गरेका थिए। ‘ह्रस्व दीर्घ’ उनका लागि निर्देशनको डेव्यु सिनेमाको रूपमा उभिएको छ।
नीता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ।