‘झिँगेदाउ’ फिल्मले बक्स अफिसमा सफलता पाएपछि नयाँ–नयाँ निर्देशकको चर्चा गर्नेहरूको मुखमा निर्देशक ज्ञानेन्द्र देउजाले बुझो लगाइदिए।
पुराना निर्देशकका फिल्म चल्दैनन् भन्ने नेपाली फिल्मी वृत्तको भनाइलाई उनले ‘क्लोज’ गरिदिए।
यो फिल्मले ज्ञानेन्द्र देउजालाई फिल्म निर्माण र निर्देशनमा निरन्तरता दिने बल मिलायो। यही कारणले ‘मुनामदन’ फेम निर्देशक आज पनि मार्क निर्देशकका रूपमा परिचित छन्।
यही फिल्मले ‘बुलबुल’बाट फराकिलो अभिनय परिचय बनाएका मुकुन भुषाललाई पनि करियरको पहिलो हिट फिल्म दियो।
साहित्यकार भिमनिधि तिवारीको कथामा आधारित उक्त फिल्मको बक्स अफिस सफलताले उत्साहित भएका निर्देशक देउजाले ‘झिँगेदाउ–२’ घोषणा गरे।
सिक्वल घोषणापछि कलाकारहरूको लाइनअपबारे खासै सोच्नुपर्ने स्थिति थिएन।
तर आज अचानक “मुकुनलाई मैले फिल्मबाट निकालें” भन्ने अभिव्यक्तिसहितको समाचार सार्वजनिक भएपछि नेपाली सिनेनगरीमा आखिर किन र के कारणले भन्ने चर्चा चलिरहेको छ।
अब प्राप्त सूचनाअनुसार, मुकुनको सुटिङ तालिका अर्को फिल्मसँग जुधेपछि उनले देउजालाई ‘झिँगेदाउ–२’को सुटिङ सार्न आग्रह गरेका थिए, जुन प्रस्ताव अस्वीकार गरिएको बताइन्छ।
यही विषयमा दुईजनाबीच विवाद चुलिएपछि देउजाले महेश त्रिपाठीलाई ‘अन द स्पट’ हायर गर्दै मुकुनलाई ‘फायर’ गरेको बुझिन्छ।
बुझिएअनुसार यो हायर र फायरको निर्णय आजै गरिएको हो।
यसरी मुकुनलाई निकालिएको समाचारलाई धेरैले सामान्य रूपमा लिए पनि, सञ्चारमाध्यममा खुलेर “मैले निकालें” भन्ने देउजाको अभिव्यक्तिलाई भने अनौठो मानिएको छ।
के यसको जरुरत नै थियो त? धेरैको मनमा यो प्रश्न उठिरहेको छ।
बाँकी कुरा त या देउजा जान्दछन्, या भुषाल।