पुस १० गते रिलिज हुने फिल्म ‘द ब्ल्यू लाइट’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा तीन प्रमुख कलाकार फिचर्ड भए पनि यसको केन्द्रमा अभिनेत्री बेनिशा हमाल देखिएकी छन्।
बेनिशालाई पोस्टरमा तीन फरक अवतारमा देखाइएको छ। सबैभन्दा ठूलो आकृतिमा उनी प्रसन्न मुद्रामा देखिन्छिन्, जसमा उनको मुहार मात्रै फोकस गरिएको छ। यसले उनको जीवनप्रतिको आशालाई संकेत गर्छ।
अन्य एक अवतारमा उनी हातमा सिगरेट लिएर रेलिङमा अडेस लागेकी छन्। यस लुकमा उनलाई तनावग्रस्त अवस्थामा देखाइएको छ। पाँचैऔंलामा औंठी रहेका छन्, जस मध्ये एक औंलामा दुईवटा औंठी देखिन्छन्।
तेस्रो चित्रमा उनी महेश त्रिपाठीसँग टेबलमा आमनेसामने बसेकी छन्, जहाँ दुबैबीच संवाद भइरहेको अनुमान गर्न सकिन्छ।
पोस्टरमा ग्रिस्मा कटुवाललाई पनि समावेश गरिएको छ, जो आँशुभरि आँखाले रोइरहेकी छन्।
निलो प्रकाश (ब्लू लाइट) को प्रयोगले फिल्मको शीर्षकसँग मेल खाने टोन सिर्जना गरेको छ। पोस्टरले आशा र निराशाबीचको उतार–चढावपूर्ण जीवनकथालाई फिल्मले प्रस्तुत गर्ने संकेत गर्छ।
बलिराम चौहान निर्देशित ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदैछ। यो उनको डेब्यु निर्देशन हो।
फिल्मका प्रमुख कलाकारमा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको फिल्मलाई स्काइफल पिक्चर्सले प्रस्तुत गरिरहेको छ। फिल्मका को–प्रोड्युसर रमण ग्रे हुन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन्।
फिल्ममा आकास उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा कार्यरत छन्।