अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयपछि फिल्ममार्फत एकसाथ पर्दामा फर्किँदैछन् । झन्डै सात वर्ष सम्बन्धमा रहेका यी दुईबीच विवाहसम्मको चर्चा चलेको थियो । ब्रेकअपपछि उनीहरूबीच पर्दामा सहकार्य भएको थिएन ।
पछिल्लो समय उनीहरूबीच प्याचअप भइसकेको छ भने उनीहरुको शीर्ष भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’ प्रदर्शन तयारीमा छ । यही फिल्ममार्फत उनीहरूले फेरि सहकार्य गरेका हुन् ।
फिल्मबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको व्यक्तिगत सम्बन्धलाई लिएर धेरै प्रश्न उठे । ट्रेलर सार्वजनिक कार्यक्रममा सृष्टिले सौगातलाई ‘दाइ’ भनेपछि सामाजिक सञ्जालमा उनी ट्रोल समेत बनेकी थिइन् ।
सोमबारको प्रेसमिटमा सृष्टिले त्यसबारे प्रष्टीकरण दिँदै भनिन्, “कार्यक्रममा पत्रकारले सौगात दाइसँग काम गर्दा कस्तो अनुभव भयो भनेर सोध्नुभएको थियो । त्यही फ्लोमा ‘दाइ’ भन्न पुगेछु । जानेर भनेको होइन । उहाँलाई म सधैं सौगात नै भन्छु । त्यो ‘टङ स्लिप’ थियो ।”
उनले सौगाततिर हेर्दै माफी पनि मागिन् । तर, सौगातले भने यसलाई सामान्य रूपमा लिएको बताए । “उहाँले ‘दाइ’ भन्नु ‘टङ स्लिप’ हो भन्ने मलाई थाहा थियो । यसलाई लिएर अरूले कुरा गर्ने मौका पाए भन्ने पनि बुझ्थें,” उनले भने, “यो सामान्य कुरा हो, मेरो पनि कहिलेकाहीँ ‘टङ स्लिप’ हुन्छ ।”
निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘भाइरल गोर्खे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।