नेपाल-अफ्रिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका लागि चलचित्र आह्वान

0 Shares

१३औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिवल–२०२५ का लागि चलचित्र आह्वान गरिएको छ। सहभागी चलचित्र, टेलिचलचित्र, तथा लघु चलचित्रलाई मापदण्ड अनुसार छनोट गरिने जानकारी आयोजकले दिएको छ।

महोत्सव आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ। यसका लागि दुई महिना अघि नै फारम खुला गरिएको थियो।

महोत्सव कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहआयोजनामा सञ्चालन हुन लागेको हो। आयोजक पक्षका अनुसार महोत्सवका लागि चलचित्र धमाधम प्राप्त भैरहेको छ।

यसपटक अफ्रिकासँगै अन्य अन्तराष्ट्रिय समूहका चलचित्र पनि महोत्सवमा समावेश गरिने आयोजकले जनाएको छ। विशेषगरी अफ्रिकन चलचित्रलाई प्राथमिकता दिइने भए पनि विश्वभरका उत्कृष्ट चलचित्रलाई पनि प्रदर्शन गरिनेछ।

सहभागी बन्न इच्छुक चलचित्रहरुले डिसेम्बरको अन्तिमसम्म आफ्नो चलचित्र पेश गर्न सक्नेछन्।

चलचित्र दर्ता FilmFreeway.com, ईमेल, वा आयोजकको कार्यालयमार्फत गर्न सकिनेछ। यसमा नेपाली चलचित्र, आदिवासी चलचित्र, लघु चलचित्र, र वृत्तचित्रलाई प्राथमिकताका साथ समावेश गर्न आयोजकले आग्रह गरेको छ। विधार्थीहरुले पनि आफ्ना सृजनात्मक छोटा चलचित्र समावेश गर्न पाउनेछन्।

महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनसँगै अवार्डमार्फत सम्मानित गरिनेछ।

डा. मञ्जु मिश्र, महोत्सवकी अध्यक्ष र कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी प्रिन्सिपलका अनुसार, महोत्सवले नेपाल र अफ्रिकाबीच सांस्कृतिक आदान-प्रदानमा महत्वपूर्ण योगदान दिएको छ। उनले भनिन्, “हामी दुई फरक महाद्वीपलाई चलचित्रमार्फत जोड्न प्रयास गर्दै आएका छौं। हाम्रो उद्देश्य अफ्रिकालाई अफ्रिकन दृष्टिकोणबाट हेर्न प्रेरित गर्नु हो।”

महोत्सवका निर्देशक डब्बु क्षत्रीका अनुसार, कोभिडका कारण एक वर्ष रोकिएको यो महोत्सव यसपटक पनि तीन दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, अन्तरक्रिया, र नेपाली चलचित्रका विविध पक्षबारे छलफल हुने जानकारी गराइएको छ।

यस महोत्सवले नेपाली र अफ्रिकन चलचित्रकर्मीबीचको सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै