फिल्म समीक्षा : श्री बुकुरो — सानो घरभित्रकाे ठूलाे भावनाकाे कथा

0 Shares

‘श्री’ शब्द सम्मान मात्र होइन, सुन्दरता, शक्ति, बुद्धि र समृद्धिको सन्तुलनको प्रतीक हो।

यही शब्द जब एउटा सानो घर ‘बुकुरो’सँग जोडिन्छ, तब कथा इँटा–ढुंगाको संरचनाबाट भावनाको गहिराइतर्फ यात्रा गर्छ। फागुन १ देखि प्रदर्शनमा आएको फिल्म श्री बुकुरोले घरलाई भौतिक संरचनाभन्दा पर, सम्बन्ध, स्मृति र अपनत्वको जीवित प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

फिल्मको कथा एउटी आमाको दृष्टिकोणबाट अघि बढ्छ—परिवार सधैं सँगै रहोस् भन्ने सरल तर गहिरो चाहना बोकेकी आमा।

विवाहको तयारी, दाजुभाइबीचको सम्बन्ध, नयाँ सदस्यको आगमन र सानातिना मनमुटावका बीच घरको वास्तविक अर्थ बिस्तारै उजागर हुँदै जान्छ। यहाँ घर बोल्दैन, तर सबै कुरा सुन्छ; हिँड्दैन, तर सबै यात्राको साक्षी बन्छ।

यही भावनात्मक गहिराइका कारण ‘बुकुरो’को अगाडि ‘श्री’ जोडिनु शीर्षकको सजावट मात्र होइन, कथाप्रतिको सम्मानजस्तो लाग्छ।

निर्देशक, कथाकार, पटकथाकार तथा गीतकार सुदीप भुपाल सिंहको बहुआयामिक नेतृत्व आफू मेहनतपूर्वक उभिएको दर्शाउने प्रयास गरेका छन्।

निर्माता रुबी सेन सिंहको साथमा तयार भएको यस फिल्मको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले सौन्दर्यपूर्ण बनाएका छन्।

घर, सम्बन्ध र पात्रका भावनालाई क्यामेराले संयमित तर प्रभावकारी रूपमा समातेको छ। सम्पादन बनिश शाह, चन्दन दत्ता र परिच्छेद सेनको छ भने संगीत रनजीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीले कथालाई भावनात्मक उचाइ दिएका छन्।

अभिनय पक्ष फिल्मको सबैभन्दा सबल आधार हो। लक्ष्मी गिरीले केन्द्रीय चरित्रलाई परिपक्वता र आत्मविश्वासका साथ निर्वाह गरेकी छन्। लामो समयपछि कथाको नेतृत्व गर्ने अवसर पाउँदा उनले आमाको माया, चिन्ता र मौन पीडालाई गहिरो रूपमा प्रस्तुत गरेकी छन्। आशिर्वाद बी. क्षेत्री, निकिता आचार्य, प्रतीक राज न्यौपाने, रोशनी कार्की लगायतका कलाकारहरू स्वाभाविक देखिन्छन्। विशेषगरी राजन इशानले संवादविहीन अभिनयमार्फत छोडेको प्रभाव प्रशंसायोग्य छ—उनको मौनता नै बलियो संवादजस्तो लाग्छ।

गीत–संगीत फिल्मको अर्को मजबुत पक्ष हो। ‘साईँला दाइ’ गीतले दर्शकको मन छोइरहन्छ भने समग्र संगीत संयोजन कथाको भावनासँग मेल खान्छ।

यद्यपि, फिल्म पूर्ण रूपमा दोष मुक्त भने छैन। यसको लम्बाइ केही बढी महसुस हुन्छ र सम्पादन अझ चुस्त हुन सक्थ्यो। कथाको प्रकृति हेर्दा करिब दुई घण्टाभित्र सीमित गरिएको भए प्रभाव अझ सघन बन्न सक्थ्यो।

समग्रमा, श्री बुकुरो घरको भौतिक परिभाषाभन्दा पर गएर भावनात्मक अर्थ खोज्ने प्रयास हो।

‘सानो घरभित्र ठूला सम्बन्ध अटाउँछन्’ भन्ने सन्देश बोकेको यो फिल्मले परिवार, अपनत्व र फर्किने ठाउँको महत्व सम्झाउँछ। घर केवल बस्ने स्थान होइन, त्यो त अन्ततः फर्केर जाने ठाउँ हो। सायद यही कारणले त्यो ‘बुकुरो’ पनि ‘श्री’ बन्न योग्य देखिन्छ।

फिल्म हेरिरहँदा दर्शकले फिल्मको कथानक घुम्तीहरूमा आफूलाई स्पष्ट रूपमा महसुस गर्न सक्छन् । यसलाई एउटा `फिल गुड´ सिनेमा भित्र अटाउन सकिन्छ ।

सम्बन्धित समाचार

सबै