यो तस्बिरको कथा त सम्भवत सबैलाई थाहा नै छ। यसबाट हाम्रा कलाकारहरूले एउटा शिक्षा लिनुपर्ने जरुरी छ।
तपाईँहरूको आजको पहिलो परिचय तपाईँहरूले अपनाउँदै रहनुभएको कलाकारिता पेशाले दिएको हो। अहिले धेरै कलाकारमा राजनीतिज्ञ हुने रहर पलाएको छ।
यो रहरले सफलता प्राप्त गरोस् त्यसको शुभकामना। तर योसँगै के बुझ्नुस् भने तपाईंहरुले जे रहरका लागि आफूलाई अगाडि बढाउनुभएको छ त्यसको आयातनसँग कति परिचित हुनुहुन्छ तपाईहरु स्वयं आफै कति सक्षम हुनुहुन्छ त्यो हेर्नुहोला ।
तपाईहरुको इमेजले ठाउँमा मान्छेले त तपाईलाई चिन्लान् तर तपाईंले हिँडेको बाटोको लागि तपाईंको योग्यता के हो? यी प्रश्नको उत्तरहरू खोजेर मात्र त्यसमा आफू खरो छु या सक्षम छु भन्ने लागेमा मात्र त्यसतर्फ पाइला चाल्नु होला।
अन्यथा आज यो तस्बिरको सट्टामा अर्को कुनै दिन फेरि तपाईहरुको तस्बिर पोस्टिनु पर्ने हुनसक्छ ।
चरम गरिबीबाट धुर्मुसले यो यात्रा यहाँसम्म ल्याउँदा उनले गरेका संघर्षहरूको फेरिस्त निकै लामो छ।
धुर्मुस आफ्नो नियतमा कहिले गलत थिएनन् उनमा सधैं एउटा इमान्दारिता मैले आजसम्म देखेको छु।
७२ सालको महाभूकम्पपछि उनी जुन प्रकारको सहयोग गर्ने उद्देश्य लिएर आए उनले त्यसको श्री गणेश काभ्रेपलाञ्चोकको पलाञ्चोक मन्दिर नजिकैको पहाडी बस्तीबाट एउटा सामूहिक बस्ती बनाएर सुरु गरे। जसले एकदमै प्रशंसा बटुल्यो बटुल्यो ।
त्यसपछि उनले सिन्धुपाल्चोको गिरानचौरमा एउटा त्योभन्दा अझ राम्रो खाले बस्तीकाे निर्माण गरे त्यसपछाडि उनी तराई झरेर एउटा मुसहर बस्ती बनाएर फेरि अर्को एउटा राम्रो काम गरे।
त्यसपछि धुर्मुस एउटा सम्पूर्ण नेपालको परिचय झल्कने गरी एउटा नमुना बस्ती बसाउन चाहन्थे। तर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई निरन्तर रूपमा बलियो गरी बढाउँदै जाँदाखेरिमा अचानक धुर्मुस सुन्तलीले रङ्गशाला बनाउनुपर्छ भन्ने मागहरु सामाजिक सञ्जालमा उठ्न थाले ।
त्यो नमुना बस्तीकै लागि फन्ड कसरी जुटाउने भन्नेका बीचमा सुरु भएको यो नयाँ अभियानले गति लियो र धुर्मुस सुन्तलीले त्यो नमुना बस्तीको योजना पन्छाउँदै रङ्गशालामा हात हाले।
यो अभियान हुने भए पछाडि मेरो धुर्मुससँग यस विषयमा संवाद भएको थियाे । जुन प्रकारको बजेटमा यो बनाइँदै थियो मैले उनलाई सोधेको थिए कि सम्भव छ र ?
तपाई त कलाकार हो समय निकालेर पो समाजसेवा गर्ने, तपाईंले गर्न सक्नुहोला?
भोलिको दिनमा तपाईलाई मानिसहरुले फेरि प्रश्न उठाएर तपाईंलाई गलत देखाउने अवस्था आउँछ भनेर चिन्ता व्यक्त गरेको थिएँ । मैले जसरी नै यही प्रकारको चिन्ता अरु पत्रकार र कलाकार गरेको थाहा पाएँ।
तर उनीहरुमा यो रङ्गशाला निर्माणको यति उत्साह थियो कि उनीहरुले भविष्यको त्यो सम्भावित घटनाको क्यालकुलेसन गर्न चाहेनन् वा गरेनन् वा गरेर पनि अगाडि बढ्ने हो भनेर अगाडि बढे त्यसै भन्न सकिन्न । तर भन्न चाहिँ के सकिन्छ भने उनीहरूले एउटा निकै कठिन कामको सुरु गर्दै थिए जुन उनीहरुले नगर्नुपर्थ्यो ।
रङ्गशालाका लागि उनीहरूले दाताहरू गुहारे महायज्ञ लगाए सरकारलाई भने यहाँसम्म कि सेन्टी भाइरस नामकको फिल्म समेत बनाए तर उनीहरुका लागि यो रंगशाला निर्माण एउटा फलामको चिउरा चपाई सरह हुन पुग्यो ।
विदेशमा पनि कलाकारहरू समाजसेवामा सक्रिय रहन्छन् तर त्यो समाजसेवामा उनीहरुले सक्रिय रुपमा धुर्मुस सुन्तलीले जसरी मागेर चन्दा उठाएर भन्दा पनि आफ्नो आम्दामीको अधिकांश हिस्सा प्रयोग गर्ने गरेका छन् ।
विशेषत ठूला मनोरञ्जन उद्योगका कलाकारका लागि आफ्नो आम्दानीको हिस्सा समाजसेवामा खर्च गर्न एकदमै सजिलो छ। उनीहरुले ठूलो मात्रामा कमाउँछन् र सोही मात्रामा समाजसेवा गर्ने हैसियत राख्छन्।
तर नेपाली कलाकारको सन्दर्भमा यो निकै कठिन विषय हो। नेपाली कलाकारले समाजसेवामा आफ्नो व्यक्तिगत तवर्न सक्ने भनेको केही लाख रुपैयाँसम्मको हो। तर धुर्मुस् सुन्तली चाहिँ अरबौंको योजनामा अगाडि बढेका थिए जजसले साथ दिन्छु भनेका थिए उनीहरुले अन्तत उनीहरूलाई धोका दिए र आज यो अवस्थामा पुर्याइदिए।
अब आज नेपालमा न धुर्मुस सुन्तली नामका कलाकार हामीसँग रहे न त्यो रङ्गशालाले नै पूर्णता पायो।
राजनीतिमा जमजमाएर लाग्न एकदम उत्साहित रहेका हाम्रा कलाकार साथीहरूको अवस्था हेर्दा पनि म चाहिँ भविष्य त्यति सुन्दर देख्दिन।
म आज पनि एउटै के कुरामा विश्वास गर्छु भने कलाकारले कलाकारिता नै गर्ने हो। किनकि तपाईँ त्यही क्षमता लिएर जन्मिनुभएको छ त्यही क्षमतामाथि विश्वास बनाइरहनुभएको छ त्यसलाई बनाउन सक्नुभएको हो।
नत्र हाल राजनीति गर्छु भनेर आएका केही कलाकारहरूको अभिव्यक्तिले उहाँहरूको यो राजनीतिक कोर्स लामो जाने छैन र यो दुई दिनको चाँदनी मात्र हुने लक्षणहरु स्पष्ट रुपमा देखिसकिएको छ।
एक अभिनेत्रीले सहकार्य पीडितको पक्षमा बोल्न गएर नारा लाउने क्रममा पीडकलाई न्यायधी भन्नुपर्नेमा उल्टै सहकारी पीडितलाई न्याय देउ भन्दै बोलेको भिडियो भाइरल भयो।
त्यसैगरी अर्की एक अभिनेत्रीले आफू राजनीतिमा दलको पार्टी होइन देशको पार्टी बन्न आएको भनेर आफ्नो शब्द भण्डारको क्षमतालाई छरपष्ट पारिदिइन्।
हालै एक पार्टीको केन्द्रीय सदस्य मनोनीत भएकी उनले नजिकका साथीभाइ समक्ष २ महिनामै आफू एउटा नेता बनिसकेको घोषणा पनि गर्न भ्याइसकेकी रहेछिन् । परिस्थिति यहाँसम्म पुगेछ कि उहाँको लवाइ त नेताको जस्तो छँदैछ त्यसबाहेक साथीभाइसँग अनौपचारिक रूपमा भेट्दा समेत नेता जसरी प्रस्तुत हुन थालिछन्।
अर्का एक हाँस्य कलाकार छन् जो अघिल्लो चुनावमा उठेर हार चाखिसकेका छन्। उनले कोही नेता पक्राउ परे भन्ने स्टाटस लेखे र कमेन्टमा गएर त्यो status चाहिँ एउटा व्यङ्ग्य थियो भन्ने प्रकारले लेखे। तर उनको स्टाटसले धेरै जनालाई चाहिँ साँच्चै पक्राउ परेकी भन्ने सन्देश दिए शंका गर्ने कमेन्ट पढे र खबरको सत्यता थाहा पाए ।
राजनीतिमा आउन इच्छुक केही कलाकारको अन्तर्वार्ता पनि हेरियो। तर ती अन्तर्वार्तामा उहाँहरूको देश प्रतिको बुझाई अध्ययन सतैमा पनि एकदमै सतही प्रकारको पाइयो।
अब यस प्रकारको अनाडी ज्ञान लिएर राजनीतिमा होमिँदा उहाँहरुले कुन प्रकारको डेलिभरी दिनुहोला त्यसमा शंका गर्ने स्पष्ट आधारहरु ठाउँहरु छन्। राजनीतिमा गाली र आलोचना गर्न पाइन्छ गर्नुपर्छ तर त्यो सँगसँगै द्रष्टा पनि बन्न सक्नुपर्छ अब के हुने र के गर्ने र कसरी गर्ने त्यो चिज हाम्रा कलाकारहरुमा अहिलेसम्म घनिभूत रुपमा भेटिएको छैन ।
अहिले नेता केन्द्रित र देशको अवस्था केन्द्रित गाली र आलोचना गरेर वाह वाह हुनुभएको छ। त्यसैगरी भोलि तपाईहरु असक्षम हुनुहुँदाखेरिमा छ्या छ्या भनेर भाइरल हुनुपर्दाको पीडा चाहिँ पक्कै प्रिय हुने छैन ।
धुर्मुसको अमेरिका बसाई सफल होस् र चाँडै नेपाल फर्किउन।