सर्लाहीबाट सुरु भयो ‘जूबा’को छायांकन, ७५ दिनको सुटिङमा ठूलो क्यानभास

0 Shares

काठमाडौं । नयाँ नेपाली फिल्म जूबा को छायांकन सुरु भएको छ। अस्त्र फिल्म्स को प्रस्तुति रहेको फिल्मको सुटिङ सर्लाहीबाट औपचारिक रूपमा सुरु गरिएको हो।

बुधबार शुभमुहूर्त गर्दै सुरु गरिएको फिल्मको छायांकन ७५ दिनसम्म चल्ने निर्माण टिमले जनाएको छ। सर्लाही र काठमाडौंसँगै भारतको राजस्थानमा समेत फिल्मको सुटिङ हुने तय भएको छ। लामो छायांकन तालिका र विभिन्न लोकेसनले फिल्मलाई ठूलो क्यानभासमा निर्माण गर्न लागिएको संकेत गरेको छ।

फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा रहेका छन्। फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्ण ले गर्नेछन् भने स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। निर्देशक कर्ण र वर्षा पौडेल दुवै क्रिएटिभ प्रोड्युसरको भूमिकामा पनि रहेका छन्।

फिल्ममार्फत अभिनेत्री सोफी धरेल ले डेब्यु गर्न लागेकी छन्। सौगात र सोफीसँगै अभिनेता सुधन पोखरेल पनि मुख्य भूमिकामा देखिनेछन्। यसअघि दुई फिल्ममा अभिनय गरिसकेका सुधनका लागि भने यो पहिलो मुख्य भूमिका हुनेछ।

रक क्यासल स्टुडियो को निर्माण रहेको फिल्मले घोषणा सँगै सार्वजनिक गरेका तीन क्यारेक्टर पोस्टरबाट दर्शकमाझ उत्सुकता बढाएको थियो।

पहिलो पोस्टरमा सौगात मल्ल क्यामेराअघि नमस्ते गरिरहेको अवस्थामा देखिएका थिए। दोस्रो पोस्टरमा उनी पीसीओमा उभिएर फोनमा कुरा गरिरहेका थिए, जहाँ ल्यान्डलाइन फोन र कलाकारहरूको गेटअपले दुई दशकअघिको समयको कथा झल्काएको थियो। पोस्टरमा सोफी धरेल केही रिसाएको भावमा देखिएकी थिइन्।

तेस्रो पोस्टरमा अभिनेता सुधन पोखरेल सिगार तानिरहेको लुक्समा प्रस्तुत भएका थिए, जसले उनी खलपात्रको भूमिकामा रहेको संकेत गरेको थियो।

फिल्मको कथा, अन्य कलाकार र प्राविधिक पक्षबारे भने निर्माण टिमले हालसम्म थप जानकारी सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

सबै