‘मास्टर्नी’को ‘गुराँस फुल्दा’माथि सुस्मिताको असन्तुष्टि

0 Shares

काठमाडौं । प्रियंका कार्कीको आगामी फिल्म ‘मास्टर्नी’ फेरि गीतकै कारण चर्चामा आएको छ। यसअघि दुर्गेश थापाले कम्पोज गरेको प्रवर्धन गीतलाई लिएर विवादमा परेको फिल्म अहिले पुरानो चर्चित गीत ‘गुराँस फुल्दा’को रि–क्रिएसनलाई लिएर चर्चामा छ।

प्रियंका कार्की र वर्षा राउत फिचर्ड ‘गुराँस फुल्दा’को नयाँ भर्सन केही दिनअघि सार्वजनिक भएको थियो। पुरानो लोकप्रिय गीतलाई नयाँ शैलीमा प्रस्तुत गरिएको उक्त गीतप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

यसैबीच, मौलिक गीत ‘गुराँस फुल्दा’को भिडियोमा फिचर्ड अभिनेत्री तथा निर्माता सुस्मिता केसीले नयाँ भर्सनप्रति असन्तुष्टि जनाएकी छन्।

सुस्मिताले फेसबुकमा पुरानो र नयाँ गीतका दृश्य तथा तस्बिरहरू सार्वजनिक गर्दै मौलिक सिर्जनाको प्रभावलाई नयाँ प्रस्तुतिले उस्तै रूपमा पुनः सिर्जना गर्न नसक्ने आशय व्यक्त गरेकी छन्।

उनले लेखेकी छन्, “कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ… तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन।”

सुस्मिताले मौलिक गीतले लामो समयसम्म दर्शकको मनमा छोडेको प्रभावलाई ‘सुगन्ध’ र ‘जादू’सँग तुलना गरेकी छन्। नयाँ आवरण र प्रस्तुति दिन सकिए पनि मौलिक सिर्जनाको प्रभावलाई उही रूपमा पुनः जन्माउन नसकिने उनको अभिव्यक्ति छ।

उनको स्टाटसको अन्त्यमा उनले ‘मौलिक गुराँसको सुगन्ध’ आज पनि दर्शकको मनमा उस्तै रहेको उल्लेख गर्दै नयाँ र पुरानो गीतबीचको फरक दर्शकको प्रतिक्रिया र मूल्यांकनले नै देखाइसकेको आशय व्यक्त गरेकी छन्।

यसअघि ‘मास्टर्नी’को प्रवर्धन गीतलाई लिएर पनि फिल्म विवादमा तानिएको थियो। अहिले भने पुरानो चर्चित गीतको रि–क्रिएसनलाई लिएर आएको सुस्मिताको प्रतिक्रियाले फिल्मको प्रचारसँगै गीतलाई पनि थप चर्चामा ल्याएको छ।

सुस्मिताले लेखेको स्टाटस् जस्ताको तस्तै

कलाकार फेरिन सक्छ, प्रस्तुति फेरिन सक्छ, दृश्य फेरिन सक्छ…। तर दर्शकको मनमा वर्षौँदेखि बसेको मौलिक छाप कहिल्यै फेरिँदैन । फूल फुलाउने प्रयास धेरैले गर्न सक्छन्, तर वर्षौँ बितिसक्दा पनि दर्शकको मनमा उही सुगन्ध, उही भावना र उही जादू छोड्ने सौभाग्य सबै गुराँसलाई कहाँ मिल्छ र ? सायद त्यसैले केही सिर्जना केवल ‘गीत’ हुँदैनन् । ती एउटा समयका साक्षी हुन्छन्, एउटा पुस्ताका सम्झना हुन्छन् र कलाकारको यात्रामा कहिल्यै नमेटिने अमूल्य पाना हुन्छन् । गुराँस फुल्दा बनै रमाइलो थियो…, त्यो गुराँस केवल फुलेको थिएन, दर्शकको मनमा बसेको थियो । नयाँ आवरण दिन सकिन्छ, नयाँ प्रस्तुति दिन सकिन्छ, तर मौलिक जादूलाई फेरि उही रूपमा जन्माउन सकिँदैन । किनकि फूल देखाउन सकिन्छ, तर सुगन्ध अभिनय गर्न सकिँदैन । आज पनि त्यो मौलिक गुराँसको सुगन्ध दर्शकको मनमा उस्तै रहेछ- सायद यही नै साँचो सिर्जनाको सबैभन्दा ठूलो जित हो । बाँकी कुरा त दर्शकको आँखाले, मनले र प्रतिक्रियाले आफैं भनिसकेको छ..। मलाई केही भन्नै पर्दैन ।

सम्बन्धित समाचार

सबै