वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। आधुनिक जीवनमा बाहिरबाट हाँसिरहेका देखिने तर भित्रभित्रै गहिरो मानसिक पीडा र संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको अदृश्य यथार्थलाई केन्द्रमा राखेर लेखिएको यस संग्रहमा १८ वटा कथा समावेश छन्।
कामना न्यूज पब्लिकेशन्स् परिसरमा आयोजित समारोहमा विमोचन गरिएको संग्रहले मानसिक तथा शारीरिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। सामान्य देखिने मानिसहरूको असामान्य भित्री संघर्षलाई साहित्यिक रूपमा चित्रण गर्नु नै पुस्तकको मुख्य विशेषता हो।
पुस्तकमाथि समीक्षा गर्दै समालोचक प्राडा दयाराम श्रेष्ठले ‘डोपामिन’ नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृति भएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार संग्रहका अधिकांश कथामा साहित्यिक इमानदारी, कथात्मक सौन्दर्य र शिल्पगत परिपक्वता देखिन्छ। मानिसको मानसिक अवस्था, त्यसबाट सिर्जित द्वन्द्व र अन्तर्द्वन्द्वलाई लेखकले प्रभावशाली कथाशैलीमार्फत प्रस्तुत गर्नुभएको उहाँको भनाइ थियो।
उहाँले हीनताग्रन्थी, आत्महत्याभित्र लुकेका सत्य, अशान्त मानसिकता, मनोद्वन्द्व, पलायन भावना, कुण्ठा, यौन शोषणलगायत विषयलाई कथात्मक शैलीमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै ‘डोपामिन’ पाठकलाई आफ्नै मनभित्र यात्रा गराउने कृति भएको बताउनुभयो।
वरिष्ठ पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले संग्रह केवल कल्पनामा सीमित नभई यथार्थको धरातलमा आधारित रहेको उल्लेख गर्दै यसलाई “पठनीय मात्र होइन, मननीय कृति” भएको धारणा राख्नुभयो।
नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले लेखक अधिकारीको यसअघि प्रकाशित ‘मर्फिन’ ले पीडाको शान्त पक्ष उजागर गरेको स्मरण गर्दै ‘डोपामिन’ ले भने पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको बताउनुभयो।
लेखक लक्ष्मण अधिकारीले पुस्तक शरीरका रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा भएको बताउनुभयो। स्वास्थ्य र मनोविज्ञानको सीमारेखामा उभिएका पात्रहरूको जीवनमार्फत वैज्ञानिक तथ्य र साहित्यिक कल्पनालाई जोड्ने प्रयास गरिएको उहाँको भनाइ थियो। उहाँले मानिसलाई खुसी दिलाउने हार्मोनको नामबाट प्रेरित भएर साहित्यले पनि सकारात्मक ऊर्जा दिने विश्वासका साथ पुस्तकको नाम ‘डोपामिन’ राखिएको जानकारी दिनुभयो।
कार्यक्रममा कामना न्यूज पब्लिकेशन्स्का अध्यक्ष दिरेकलाल श्रेष्ठले ‘डोपामिन’ नेपाली कथा साहित्यको महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले लेखक अधिकारीसँग दुई दशकभन्दा बढी समय काम गर्दा उहाँको अनुशासन, समयप्रतिको सम्मान र सिर्जनाप्रतिको निष्ठाले आफू प्रभावित भएको उल्लेख गर्दै यो संग्रह आधुनिक मानिसको मन, सम्बन्ध, एक्लोपन, चाहना, पीडा र समाजका लुकेका भावनाहरूको ऐना बनेको बताउनुभयो।
नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाकी अध्यक्ष भगवती तिमल्सिनाले पुस्तकले समकालीन समाजमा मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई साहित्यमार्फत नयाँ उचाइ दिएको धारणा राख्नुभयो।
संग्रहमा समावेश ‘रेफर नहुँदा’, ‘पश्चात्तापको आगो’, ‘एक आरोपको मूल्य’, ‘चँगेरीको माया’, ‘उसको ठाउँमा बसेर’, ‘सपना साँचेको जून’ र ‘न सुसाइड न हनिमुन’ लगायतका कथाले अस्पतालका शय्यादेखि समाजका गल्लीसम्म फैलिएको पीडा, अन्याय, प्रेम, करुणा र मानसिक संघर्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
स्वास्थ्य, मनोविज्ञान र साहित्यलाई एउटै कथात्मक धरातलमा उभ्याउने प्रयासका कारण ‘डोपामिन : खुसी र प्रेरणा’ समकालीन नेपाली कथा साहित्यमा फरक पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।