काठमाडौं । अभिनेता जितु नेपालद्वारा निर्मित चलचित्र ‘आइ एम जीत बहादुर’को पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको शीर्ष गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ। बलिउडका थुप्रै सफल चलचित्रमा आफ्नो गायनमार्फत दर्शक–श्रोतामाझ लोकप्रिय बनेका खेरको आवाजले नेपाली चलचित्र ‘आइ एम जीत बहादुर’लाई थप आकर्षक बनाउने निर्माण टिमको विश्वास छ। गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द तथा बव एसएनको संगीत रहेको छ।
भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा देखिएका छन् भने उनका साथमा अभिनेत्री वर्षा राउतको अभिनय रहेको छ। केही समयअघि सार्वजनिक गरिएको टिजरले युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’ तथा बाल कलाकार साहरा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ। सुभेन्दु घोषकै कथा तथा निर्देशन रहेको ‘आइ एम जीत बहादुर’को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
अभिनेता जितु नेपालले तीन दशकभन्दा लामो कलाकारिता यात्रामा दर्जनौं चलचित्र तथा टेलिशृंखलामा अभिनय गरिसकेका छन्।