बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको ‘जुनाः एक व्यथा’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ।
आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ। केटी माग्न गएको दृश्यदेखि सुरु भएको ट्रेलरमा विवाहपछि बालिकाले भोग्नुपरेको पति र सासुले दिएको दुःख तथा पीडा देखाइएको छ। गाउँका खलपात्रहरूले बालिकामाथि लगाएको कुदृष्टिलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
ट्रेलर निकै मार्मिक बनेको छ। बाल विवाहपछि एउटा बालिकाको जीवनमा कस्तो पीडा र दुःखका दिनको सुरुआत हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ। छोरीको विवाहपछि उसका बाबुआमाको छोरीप्रतिको पीरलाई पनि ट्रेलरमा समेटिएको छ।
ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायत कलाकारलाई समेटिएको छ। ट्रेलर रिलिजपछि फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए। ‘हामी जुनसुकै पेशा वा व्यवसायमा भए पनि, यो हाम्रै घर र गाउँको कथा हो। यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामा पनि प्रशस्त छन्। यस्तो फिल्मले त्यस्ता हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने।
निर्देशक जीवन सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथाहरू अन्त्य गर्न समाजमा चेतना फैलाउने बताए।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन्। फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको डिओपी छ। फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।