‘मायावी’लाई लिएर भावुक बनिन् दीपिका अनि लेखिन् यस्तो

0 Shares

‘मायावी’

यो केवल एउटा चलचित्र मात्र होइन, मेरो दोस्रो सन्तान पनि हो, जसले फागुन १४ गते जन्म लिन लागेको छ।

सायद मेरो छोरी भएको भए, उसको नाम ‘मायावी’ नै राख्थेँ।

चलचित्रको सुटिङका क्रममा जब म आमा बन्न लागेको छु भन्ने थाहा पाएँ, कुन सन्तानलाई रोज्ने भन्ने दोधारमा परेँ। शारीरिक रूपमा म निकै कमजोर थिएँ। शरीरले हरेक पल आराम खोज्थ्यो, तर अर्कोतिर, मेरो श्रीमान् दिवाकर भट्टराईले पाँच वर्षदेखि देखेको सपनामा साथ दिन नसक्ने त होइन? भन्ने प्रश्नले मन भरिएको थियो।

उहाँ पोखरामा लोकेशन फाइनल गर्न गएका थिए। मैले उहाँलाई ‘मायावी’मा काम गर्न नसक्ने जानकारी गराएँ। उहाँ भावुक हुनुभयो। अनि भन्नुभयो— “त्यसो नभन, नत्र मैले फेवातालमा हाम फाल्नुपर्छ।” उहाँको त्यो वाक्य सुनेर मेरो शरीर काँप्यो। त्यो क्षण मैले भगवान्सँग पुकारेँ— “दुवै सन्तानलाई जन्म दिने शक्ति देऊ।”

सुटिङ निकै कष्टकर हुन्थ्यो— न भोक, न निन्द्रा, न रात, न दिन। गर्भावस्थामा मुड स्विङ भइरहन्थ्यो। मलाई रुनुपर्ने दृश्यमा कहीँ पनि गिलिसिरिनको आवश्यकता परेन। शरीरका पीडा र हार्मोनका प्रभावले यति भावुक हुन्थेँ कि आँसु थाम्न सक्दिनथेँ। जब म रोइरहेको हुन्थेँ, मेरो श्रीमान् क्यामेराको पछाडि बसेर “एक्सन… कट!” भन्दै आफैँ पनि रोइरहनुहुन्थ्यो। उहाँले “कट” भन्नुभयो भने पनि मेरो आँसु रोकिन्थेन।

आज पनि ‘मायावी’ भन्ने बित्तिकै भावुक हुन्छु। किनभने, यो चलचित्रसँग मेरो थुप्रै भावना, याद, र समर्पण जोडिएको छ। कतिपयले मेरो रोएको कुरा ‘स्टन्ट’ भनेर व्याख्या गरेका छन्। तर, म यहाँ लेखेर मेरो भावना, पीडा, र आँसु व्यक्त गर्न सक्दिनँ। किनभने, त्यो महसुस त भोग्नेलाई मात्र हुन्छ।

‘मायाबी’ को यात्रा मेरा लागि सजिलो थिएन। म र मेरो श्रीमान् बारम्बार रोएका छौँ, संघर्ष गरेका छौँ। मैले धेरै चलचित्रमा काम गरेकी छैन। भविष्यमा कति काम गर्नेछु, त्यो पनि थाहा छैन। तर ‘मायाबी’ जीवनभर मलाई हिम्मत दिनेछ। जीवनमा जतिसुकै कठिनाइ आए पनि, ‘मायावी’ सम्झेर अगाडि बढ्नेछु।

दर्शकहरूको प्रतिक्रिया सुन्न उत्साहित छु। तर केही दिनयता आएका प्रतिक्रियाले दर्शकहरूले मलाई बिर्सिसक्नुभयो कि जस्तो लाग्दैछ। तर अब महसुस भयो— मैले सही निर्णय नै गरेछु।

आजकल शक्ति, पैसा, र अहंकारका कारण मायाको मूल्य घट्दै गएको जस्तो लाग्छ। तर, अझै पनि साँचो माया गर्नेहरू छन्, जसले ‘मायाबी’लाई अथाहा प्रेम गर्नुहुनेछ भन्ने विश्वास छ।

हामी सबैलाई माया चाहिन्छ। एउटा व्यक्तिको साथले जीवनमा ठूलो फरक पार्छ। यही कथामा बनेको हो ‘मायाबी’। वास्तविक जीवनमा पनि म धेरै माया खोज्ने मान्छे हुँ। यही माया गरेको मान्छेको सपनालाई जिवन्त बनाउन, आफ्नै पीडा भुलेर पनि म ‘मायाबी’मा काम गरेँ।

(फागुन १४ रिलिज हुन लागेको आफ्नो आगामी सिनेमा आफ्ना लागि के हो र आफूले गरेको मेहेनत सम्झदैं दीपिकाले लेखेको स्टाटस जस्ताको तस्तै सान्दर्भिक लागेर प्रकाशन गरेका  हौं । )

 

सम्बन्धित समाचार

सबै