
निर्देशक तथा लेखक दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट लामो ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेश आन्दोलनलाई केन्द्रमा राखेर कथा भनिएको छ।
मधेशमा आन्दोलन चर्किरहँदा अपहरणमा परेका सभासद र स्कूलकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनलाई ट्रेलरमा देखाइएको छ। आन्दोलनका बीच प्रहरीले दुई बालकलाई खोज्न अपनाएको रणनीति र आइपर्ने समस्यालाई ट्रेलरले देखाउँछ। प्रहरी इन्सपेक्टरको भूमिकामा रहेकी अभिनेत्री आशा मगराती र अभिनेता दयाहाङ राईबीचको टसन पनि ट्रेलरमा हेर्न पाइन्छ।
सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’लाई आफ्नो करिअरकै ठूलो सिनेमा रहेको बताए। उनले भने, “मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ। कलाकारसहित सिनेमामा एक हजारभन्दा बढी मानिस संलग्न थिए।” सिनेमालाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले जानकारी दिए। अन्तर्राष्ट्रिय महोत्सवहरूमा सिनेमाले प्रशंसा पाएका कारण नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास उनको छ।
आगामी चैत १ गतेबाट प्रदर्शन आउने सिनेमामा आशा, दयाहाङसहित विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठूला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ। यो सिनेमा गत कात्तिक महिनामा ५ फेस्टिवलमा स्क्रिनिङ भएको थियो। सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो। ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमा रौनियारको प्रशंसा गरेका थिए।
सिनेमाको निर्माणमा आदि फिल्म्सका तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्म्सका तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन्। यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रूपमा रिलिज गर्ने भएका छन्।