
‘महाराजधिराज’ फिल्ममा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा यसको चर्चा झन् चुलिँदै गएको छ।
परिच्छेद सेनको निर्देशनमा बन्ने फिल्म ‘महाराजधिराज’ मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए। रमेशभन्दा अगाडि पल शाह अनुबन्ध भइसकेका थिए। अहिले नायक आर्यन सिग्देल पनि अनुबन्ध भएका छन्। निर्माण पक्षका अनुसार उनी मुख्य भूमिकामध्ये एकमा देखिनेछन्।
आर्यन, रमेश र पलको अनुबन्धपछि फिल्मको कलाकार लाइनअप बलियो बन्दै गएको छ। यससँगै फिल्मप्रति दर्शकको अपेक्षा पनि बढ्दो छ।
‘महाराजधिराज’ को पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ। फिल्ममा आर्यनले कुन भूमिका निभाउने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा उत्पन्न गराएको छ।
आर्यनले ‘महाराजधिराज’ मा अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरेका छन्। उनले आफ्नो भूमिका फरक हुने र दर्शकका लागि नयाँ अनुभव हुने बताएका छन्।
यस फिल्ममा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने निश्चित भइसकेको छ।
‘महाराजधिराज’ को कथा निर्देशक सेन स्वयंले लेखेका हुन्। उनले यसअघि निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा सफल ठहरिएको थियो।
फूलपातीमा प्रदर्शन हुने फिल्म ‘महाराजधिराज’ का प्रस्तुतकर्ता विराज विष्ट हुन्। उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्डसमेत जितेको थियो।
फिल्मका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन्।
निर्माण पक्षका अनुसार फिल्मका सबै कलाकारहरूको नाम अझै सार्वजनिक भइसकेको छैन। केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले फिल्मको लाइनअपलाई झन् रोचक बनाएको छ।
पछिल्लो समय ‘पूजार सार्की’को सफलतापछि आर्यनको व्यस्तता बढेको छ ।
त्यसयतामात्रै उनका आउँदो जेठ १५ सम्म फिल्म संख्या ५ पुग्दैछ । ‘पूजार सार्की’ पछि उनी अभिनित ‘छक्का पञ्जा ५'(विशेष भूमिका), ‘डोरी’ तथा ‘पिताम्बर’ रिलिज भइसकेका छन् भने जेठ दुईमा ‘के घर के डेरा : घर नम्बर २’ र जेठ १५ मा ‘ ‘महाभोज’ रिलिज हुने क्रममा छ ।
‘पूजार सार्की’ अगाडि रिलिज भएको ‘डिसेम्बर फल्स’ फ्लप भएपछि धेरैले आर्यनको करियर समाप्तितीर लागेको अड्कलबाजी गर्न थालेका थिए तर दिनेश राउतले ‘पूजार सार्की’ खेलेपछि उनको करियरले पुनर्जीवन पाएको छ ।
यस्तोमा नेपाली फिल्म निर्माणको संख्या ह्वात्तै बढिरहँदा आर्यन जस्ता क्षमतावान कलाकारले पुनः आफूलाई अगाडि बढाउन थालेका छन् ।