
भदौ ६ गते रिलिज हुने कमेडी फिल्म ‘माग्ने राजा’ का प्रमुख अभिनेता हुन् केदार घिमिरे, जो नेपाली जनमानसमा ‘माग्ने बुढा’को उपनामबाट परिचित छन्। आफ्नो लामो अभिनय करिअरमा उनी कहिल्यै विवादमा परेका थिएनन्।
उनका सहकर्मी धुर्मुस (सीताराम कट्टेल) चितवनको क्रिकेट रंगशाला निर्माणमा विवादमा तानिए। ‘छक्का पञ्जा’ सिरिज लगायत दीपक–दीपाले निर्माण गरेका प्रायः सबै फिल्ममा निरन्तर सहभागी रहँदा पनि उनी आलोचनाको सिकार भएका थिएनन्।
तर, हालै ‘माग्ने राजा’ फिल्मका निर्माता मुनाल घिमिरेले केदार घिमिरेले उक्त फिल्मका लागि ६१ लाख पारिश्रमिक लिएको दाबी गरेपछि उनी विवादमा तानिए। त्यसयता उनी लगातार यसको स्पष्टिकरण दिइरहेका छन्। विभिन्न मिडिया तथा अन्तरवार्तामा उनले आरोपको खण्डन गरेका छन्।
हालै एक सार्वजनिक कार्यक्रममा उनले यदि आफूले ६१ लाख लिएको प्रमाणित भए सो रकम फिर्ता गर्ने बताएका थिए। उनले निर्माताले प्रचारको लागि मात्र त्यस्तो अभिव्यक्ति दिएको बताए। उनी यति अतालिए कि एउटा अनलाइनमा फिल्मका निर्माता, निर्देशक र लेखक मिलेर आफूलाई फसाउन लागेकोसम्म बताए।
यो अवस्थासम्म किन पुग्नुपर्यो? फाइदा के भयो? घाटा के भयो?
उनी अहिले आलोचना खेपिरहेका छन् कि फिल्म चलाउन सस्तो प्रचारको सहारा लिएका हुन्। फिल्म चलाउनका लागि झूटको सहारा लिएको आरोपसमेत लागिरहेको छ। स्पष्ट रूपमा हेर्दा उनलाई यो प्रचारले घाटा नै भएको देखिन्छ।
समाज र राजनीतिका विविध प्रसंगमा व्यङ्ग्यात्मक स्टाटस लेख्ने भएकाले पनि यो पटक उनको ‘नैतिकता’ माथि प्रश्न उठाइएको छ। धेरैको जिज्ञासा छ— यदि उनी महँगो पारिश्रमिक माग्न सक्छन् भने, यस्ता सस्ता प्रचारको विरोध किन गरेनन्? पैसा लिएपछि सबै जायज हुन्छ?
शुरुमा रमाएको जस्तो गरे पनि आलोचना बढेपछि तर्सिएका केदारले त्यसपछि मात्र खण्डन सुरु गरे। यदि आलोचना चर्किएको नहुँदो हो त, उनी मौन नै बस्थे। पछि उनले ‘कोर्ष करेक्सन’ मात्रै गरेका हुन्। ढिलो भए पनि यो सकारात्मक हो। आशा गरौं, यो घटनाबाट उनले र अन्य कलाकारले सिक्नेछन् कि कलाकारको मूल्य पारिश्रमिकमा होइन, कलामा हुन्छ।
फिल्म चलाउन ‘फण्डा’ खोज्ने नेपाली फिल्मकर्मीको पुरानै बानी हो। फण्डाले फिल्म चल्छ भन्ने सोच गरिब मानसिकता हो। चलेका अनुहारको भरमा फिल्म बनाउने प्रवृत्तिले यस्ता घटना बढिरहेका छन्।
पछिल्लो समय कलाकारको पारिश्रमिक तीव्र गतिमा बढ्दो छ, जसले निर्माताको चिन्ता बढाएको छ। निर्माता छवि ओझाले समेत कलाकारको पारिश्रमिककै कारण नयाँ फिल्म बनाउन सकस भएको बताएका छन्। सस्तो पारिश्रमिकमा राम्रो फिल्म बनाउने निर्माता भए पनि कलाकार स्क्रिप्ट सुन्न पनि नआएको उनी बताउँछन्।
निर्माताहरू ‘मैले नलिए अर्कैले लिन्छ’ भन्ने डरले कलाकारको मागअनुसार पैसा दिइरहेका छन्। अनुहार बेचेर वितरक, डिजिटल प्लेटफर्म र डायस्पोरा लगानीकर्ताबाट फिल्म बनाउने शैलीले पनि पारिश्रमिक अस्वाभाविक रूपमा बढाएको हो। नयाँ कलाकारको जोखिम लिन चाहँदैनन्।
आजकाल पारिश्रमिकको अङ्क फिल्मको भन्दा प्राथमिक विषय बन्दै गएको छ। एक निर्माता भन्छन्— फिल्म बचाउन अब कलाकारले सेयरमा काम गर्नुपर्छ, आफू त्यसैमा प्रयासरत छन्। तर दुःखको कुरा, उनले आफ्नै नयाँ फिल्मका लागि आधा करोडभन्दा बढी पारिश्रमिक बुझाएका छन्।
पछिल्लो समय एउटा फिल्म चल्नासाथ, विशेषतः पुरुष कलाकारको पारिश्रमिक ह्वात्तै बढ्ने गरेको छ। अहिले चल्तिका अनुहार ३० लाखभन्दा कममा काम गर्न छाडिसकेका छन्।
यति हुँदाहुँदै पनि नेपाली फिल्महरूले वक्सअफिसमा खासै कमाल गर्न सकेका छैनन्। यो वर्षको तेस्रो महिनासम्म आइपुग्दा ‘ऊनको स्वेटर’ बाहेक सबै फिल्म फ्लप भएका छन्।
फिल्म बनाउने सन्दर्भमा मुनाफा सोच्ने प्रवृत्तिले निर्देशकको सशक्तता हराउँदै गएको छ, जसले कलाकारसँगको ‘बार्गेनिङ पावर’ घटाएको छ। निर्देशकबाट फिल्म चलेन भने यो सिलसिला रोकिँदैन।
यस्तोमा केदार घिमिरेजस्ता कलाकार महँगो पारिश्रमिकको बहानामा सस्तो प्रचारको सिकार बन्नुपरेको छ भने नेपाली फिल्म उद्योगको उर्जा बजारिया गन्थनमै खेर गइरहेको छ। यो प्रवृत्तिबाट नेपाली फिल्म उद्योग मुक्त हुनु आवश्यक छ।