टिजर रिलिज लगत्तै जापान र मध्यपूर्वमा बिक्यो ‘परिवर्तन’

0 Shares

निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतीक्षित नेपाली फिल्म ‘परिवर्तन’का विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्।

टिजर रिलिजसँगै कतार, यूएई र जापानमा फिल्म बिक्री भएको हो।


कतार र यूएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट ले खरिद गरेको छ भने जापान अधिकार युना इन्टरटेनमेन्ट ले किनेको निर्माता दीपक सिवाकोटीले बताए।

उनका अनुसार हाल फिल्मको प्रदर्शन अधिकार जापान, यूएई र कतारमा बिक्री भइसकेको छ भने अन्य देशका लागि पनि कुराकानी भइरहेको छ।
‘अहिले तीन देशमा फिल्मको राइट्स बिक्री भइसकेको छ। अन्य देशहरूसँग पनि कुरा चलिरहेको छ। सायद केही दिनमै यसबारे जानकारी दिनेछौं,’ निर्माता सिवाकोटीले भने।

विदेशी बजारमा अधिकार बिक्री भएसँगै ‘परिवर्तन’प्रति दर्शक र वितरक दुवैको उत्साह बढेको देखिन्छ। निर्देशक केरुङका अनुसार, यो फिल्म नेपाली सिनेमालाई नयाँ स्तरमा पुर्‍याउने प्रयास हो। देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को टिजरबाट दर्शकले त्यसको भाव बुझिसकेका छन्।

निर्माण पक्षले केही दिनअघि, छठ पर्वको अवसर पारेर, फिल्मको टिजर सार्वजनिक गरेको थियो।


देशमा फैलिएको भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका बारेमा सोच्ने बेला आएको सन्देश यस फिल्मले दिएको छ।

फिल्ममा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रूपमा देख्न सकिन्छ। टिजर रिलिजपछि उनको चर्चा पनि चुलिँदै गएको छ।


निर्माता दीपक सिवाकोटीले नै लेखेको यस फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारी ले लेखेका हुन् भने संगीत एस.डी. योगी को रहेको छ।


श्री श्रेष्ठ ले एक्सन निर्देशन गरेका छन्। फिल्ममा शिव ढकाल को छायांकन र बन्दे प्रसाद को सम्पादन रहेको छ।


फिल्मको नेपालभरको वितरण जिम्मा आर आर फिल्म्स ले लिएको छ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।

सम्बन्धित समाचार

सबै