चलचित्र निर्माता संघको आगामी सोमबार हुने कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। निर्वाचन अधिकृत ताराकुमार श्रेष्ठका अनुसार, अध्यक्षसहित महासचिव र सचिव पदमा मतदान हुनेछ।
अध्यक्ष पदका लागि सुनिलकुमार थापा र उदय सुब्बाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने छ। महासचिव पदमा किरण नेपाली र खगेन्द्र प्रसाद लामिछाने भिड्दै छन् भने सचिव पदमा युवराज गिरी र किसान पोखरेल प्रतिष्पर्धामा छन्।
आइतबार दिउँसोसम्म दाबी–विरोध दर्ता गर्ने समय तोकिएको थियो। सो क्रममा अध्यक्ष पदका उम्मेदवार सुब्बाले थापामाथि उजुरी दिएका थिए। तर दुवै पक्षबीच सहमति भएपछि सुब्बाले उजुरी फिर्ता लिए र अध्यक्ष पदमा प्रत्यक्ष चुनावको मार्ग खुलेको निर्वाचन अधिकृतले बताए।
अन्य पदमा भने सबै सर्वसम्मत भएका छन्।
उपाध्यक्ष: रौनकविक्रम कँडेल र ज्योतिराज राई
कोषाध्यक्ष: रामप्रसाद रिजाल
सदस्य: चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया, राजकुमार पण्डित
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार, आगामी सोमबारको १९ औँ वार्षिक साधारण सभामा सर्वसम्मत पदाधिकारीहरूको औपचारिक घोषणा गरिनेछ।