फस्ट लुक्स सार्वजनिक भएको दुई दिनमै ‘परालको आगो’ अमेरिका–क्यानडामा सोल्ड आउट

0 Shares

काठमाडौं – निर्माता सुशील पोखरेलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘परालको आगो’ले अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रतिक्रिया पाएको छ। फिल्मको फस्ट लुक्स सार्वजनिक भएको दुई दिनमै अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री भएको निर्माण पक्षले जनाएको छ।

निर्माता पोखरेलका अनुसार अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकार चलचित्र इएनटीले खरिद गरेको हो।

पोखरेलले भने, “हाम्रो फिल्मको अमेरिका र क्यानडाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ। यसबाहेक अन्य देशहरूमा पनि प्रदर्शनबारे छलफल भइरहेको छ।”

लक्ष्मण सुनारको निर्देशनमा बनेको यो फिल्म छायांकन सुरु हुनुअघि नै चर्चामा थियो। बुधबार फिल्मको पोस्टर सार्वजनिक भएपछि दर्शकमाझ झन् कौतुहलता बढेको निर्माण टिमले जनाएको छ। विदेशमा रहेका नेपाली दर्शकबाट पनि फिल्मप्रति चासो देखिएको बताइएको छ।

फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्। पोस्टर सार्वजनिक भएपछि यी तीन कलाकारलाई एउटै पर्दामा हेर्न दर्शक उत्साहित देखिएको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।

ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले मुख्य विषयवस्तु बनाएको छ। फिल्ममा सुहाना, सौगात र प्रकाशसँगै सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मन्जिला बाँनियाको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। छायांकन संकल्प भुजेलले गरेका हुन्।

फिल्ममा नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजन कनाल कँवरको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् भने टिजर र ट्रेलर साहिल खानले तयार पारेका छन्।

त्यसैगरी ५.१ मिक्सिङ मुकेश शाहले गरेका छन् भने निर्माण संयोजन नगेन्द्र घिमिरेको रहेको छ। फिल्मको पाश्व संगीत किरण तुलाधरको रहेको छ भने संगीत शान्ती ठटाल, सत्य–स्वरुप र प्रकाश सपुतको छ। गीतमा मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतका शब्द छन्।

फिल्मको कला निर्देशन प्रतिक चौधरीले गरेका छन् भने मुख्य सहायक निर्देशक करणबहादुर साउद हुन्। सह–निर्मातामा सुलभी पोखरेल र सत्यम पोखरेल छन्।

फिल्मको वितरण आर फिल्मसले गर्नेछ भने ओएसआर डिजिटलले डिजिटल अधिकार लिइसकेको छ।

लेखक गुरुप्रसाद मैनालीको कथा सङ्ग्रह ‘नासो’मा समावेश ‘परालको आगो’ कथामा आधारित यो फिल्म हो। यही कथामा आधारित भएर ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि ‘परालको आगो’ नामकै फिल्म निर्देशन गरेका थिए।

सम्बन्धित समाचार

सबै