काठमाडौं — प्रेम र भावनालाई केन्द्रमा राख्दै तयार पारिएको नयाँ गीत मुया रानी औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीतकार कमल शर्मा आचार्य को शब्दमा बनेको यो गीत राजधानी काठमाडौंको होटल कावेरी इनमा आयोजित विशेष कार्यक्रममा रिलिज गरिएको हो।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। विशेष अतिथिका रूपमा संगीतकार राजु सिंह, गीतकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, गीतकार आनन्द अधिकारी, नेपाल सरकारका सचिव अशोक क्षेत्री, पूर्व एआईजी श्याम ज्ञवाली तथा गायक–संगीतकार रेशम सापकोटा लगायतको उपस्थिति रहेको थियो।
गीतले प्रेममा रहेका व्यक्तिहरू टाढा हुँदा मनमा उत्पन्न हुने व्याकुलता, आतुरता र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। यसले प्रेम सम्बन्ध कहिल्यै टुट्न नहुने सन्देश दिनुका साथै संसार प्रेममै आधारित छ भन्ने भाव उजागर गरेको छ।
गीतमा रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगर को स्वर रहेको छ। शब्द कमल शर्मा आचार्य ले लेखेका हुन् भने संगीत ऋषि खड्का ले तयार पारेका हुन्।
गीतकार कमल शर्मा आचार्य का यसअघि पनि केही गीत सार्वजनिक भइसकेका छन्। उनले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारेर मुया रानी सार्वजनिक गरेका हुन्।
म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाही को अभिनय देख्न सकिन्छ। भिडियो निर्माण व्यवस्थापन दिपेन गौतम ले गरेका हुन् भने सह–निर्देशन शैलेश खत्री ले सम्हालेका छन्।
कोरियोग्राफी पुनम श्रेष्ठ, छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहाल ले गरेका छन्। भिडियो निर्देशन एलिश खनाल ले गरेका हुन्।
कार्यक्रममा अतिथिहरूले काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा छायांकन गरिएको भिडियोको प्रशंसा गरेका थिए।
मुया रानी ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।