आशीर्वाद र अश्विनी अभिनीत ‘नौ डाँडा काटेर’ सार्वजनिक

0 Shares

काठमाडौं — म्युजिकल सर्ट फिल्म ‘तिमी–एक रहस्य’मा समावेश पहिलो गीत ‘नौ डाँडा काटेर’ सार्वजनिक गरिएको छ। आर.बी. पुनको अवधारणामा निर्माण गरिएको गीतमा लोकप्रिय गायक प्रताप दासको स्वर रहेको छ। गीतका शब्द प्रताप शाहीले लेखेका हुन् भने सङ्गीत सुवास पुन मगरले दिएका छन्।

गीतको भिडियोले सामाजिक र पारिवारिक कथावस्तुलाई मार्मिक तथा कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। विशेषगरी सामाजिक सञ्जाल फेसबुकमार्फत सुरु हुने प्रेम, पारिवारिक हैसियतबीचको दूरी, वर्गीय विभाजन तथा गाउँ–सहरको परिवेशलाई अर्थपूर्ण संवादसहित जीवन्त रूपमा चित्रण गरिएको छ।

Musical Presentation ‘Nau Danda Katera’ Featuring Ashirbad and Ashwini Released

उत्तम हुमागाईँको छायाङ्कन रहेको भिडियोको निर्देशन तथा सम्पादन हरि हुमागाईँले गरेका हुन्। भिडियोमा आशीर्वाद क्षेत्री, अश्विनी शाही, राजाराम पौडेल, विशाल पहाडी, सङ्गी अधिकारी पोखरेल, सृष्टि घिमिरे र चेतना काफ्ले लगायत कलाकारहरूको प्रभावशाली अभिनय देख्न सकिन्छ।

नर्वेमा रहेका नेपाली युवाहरूको संस्था ‘धड्कन नेपाल ग्रुप’ले निर्माण गरेको यस गीतले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वको सन्देश पनि बोकेको छ। गीत सार्वजनिक गर्नुअघि निर्माण टोली भक्तपुरस्थित ‘सहारा केयर सेन्टर’ पुगेर त्यहाँ आश्रित वृद्धवृद्धालाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। कार्यक्रममा निर्देशक हरि हुमागाईँ तथा कलाकार आशीर्वाद क्षेत्री र चेतना काफ्लेको समेत उपस्थिति रहेको थियो।

धड्कन नेपाल ग्रुपका संस्थापक सङ्गीतकार सुवास पुन मगर र गीतकार प्रताप शाही हुन्। नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय मगर हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युरोप शाखाका अध्यक्षसमेत रहेका छन्।

यस प्रोजेक्टका व्यवस्थापक दिपेन गौतम हुन् भने कार्यकारी निर्माता भगवान भुजेल हुन्। भिडियोको रङ्ग संयोजन प्रवीण मानन्धरले गरेका छन्। धड्कन नेपाल ग्रुपको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले कला र सामाजिक सेवाको सुन्दर संयोजन प्रस्तुत गरेको निर्माण पक्षको विश्वास छ।

सम्बन्धित समाचार

सबै