
बाल कलाकारका रूपमा चर्चा कमाएका सम्राट दाहाल अहिले किशोर अवस्थामा प्रवेश गरेका छन्।
हालै उनी अभिनीत गीत ‘अस्तिभन्दा हिजो’ को भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो सम्राट क्रिएसनको युट्युब च्यानलबाट प्रस्तुत गरिएको हो।
सम्राटले यो गीत किशोरहरूको भावनालाई प्रतिनिधित्व गर्ने भएकाले आफूले अभिनय गर्न रुचाएको बताएका छन्। १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो।
पाँच वर्षको उमेरदेखि राष्ट्रिय गीतमा अभिनय यात्रा थालेका सम्राट अमेरिकामा बसे पनि निरन्तर मोडलिङ गर्दै आएका छन्।
गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारले स्वर दिएका छन्। संगीतकार दीपक शर्माले संगीत सिर्जना गरेका छन्। गीतको बोल यस प्रकार छ:
अस्तिभन्दा हिजो
हिजोभन्दा आज अझै
झनझन झनझन
हावामा हराउँदैछु किन
म त बुझ्दै बुझिन…
गीतको शब्द जति सान्दर्भिक छ, त्यसकै अनुपातमा गीत माधुर्यपूर्ण छ। गायक करणले गीतलाई न्याय दिएका छन्। गीतमा सम्राट न्यौपानेले संगीत संयोजन गरेका छन्।
यो गीत किशोर मनोविज्ञानमा आधारित छ। निर्देशक सुमन दाहालले गीतको रचना र निर्देशन गरेका हुन्। उनका अनुसार किशोरावस्थामा हुने शारीरिक र मानसिक परिवर्तनले ल्याउने कौतूहलतालाई गीतले समेटेको छ।
गीतको भिडियो अमेरिकाको केन्टकी राज्यका रमणीय स्थानहरूमा छायांकन गरिएको हो। गीतको मर्म अनुसार भिडियोलाई विभिन्न समयमा छायांकन गरिएको छ। यो भिडियो दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भिडियोको छायांकन पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले गरेका हुन्।