
काठमाडौं, १२ पुस
गायिका सरिता भारती र गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत ‘छोड सताउन’ को भिडियो बिहीबार सार्वजनिक भएको छ। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। सरिता र ओमको यो पहिलो सांगीतिक सहकार्य हो।
पश्चिमेली लोक भाकामा आधारित यस गीतमा संगीत र संगीत संयोजन स्वयम् ओम सुनारले गरेका छन्। गीतलाई राजेन्द्र बजगाईले म्युजिक किचनमा रेकर्ड गरेका हुन् भने मनोज परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतका शब्दहरू डब्बु क्षत्रीले लेखेका हुन्। कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा स्थानीय भाषामा प्रयोग हुने छोट्या र छोट्टी (केटा र केटी) जस्ता शब्द टिपेर उनले गीतमा प्रयोग गरेका छन्। यसरी स्थानीय भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयास गरिएको छ। यस गीतको निर्देशन पनि डब्बु क्षत्रीकै हो।
गीतको भिडियोमा सनम कठायत, प्रवण भुसाल, प्रतीक्षा काफ्ले, सजिना लामिछाने, र रञ्जित सिञ्जालीसँगै गायिका सरिता भारतीले पनि मोडलिङ गरेकी छिन्। भिडियोमा नकुल गिरी, हरिकृष्ण गिरी, सुरेन्द्र गिरीलगायत अन्य कलाकारहरूको पनि उपस्थिति छ।
लामो समयदेखि नृत्य निर्देशन गर्दै आएका कृष्ण रसालले यस भिडियोको कोरियोग्राफी गरेका छन्। भिडियोको छायांकन, सम्पादन, र रंग संयोजन राजेन्द्र पाण्डेले गरेका हुन्।
नृत्यप्रधान यो लोकगीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायिका सरिता र गायक ओमले बताएका छन्।