नेपाली रजतपटमा स्वस्तिमाको दशक पूरा, भनिन् – १० वर्ष १० दिनजस्तो

0 Shares

पहिलो रोजाइको अभिनेत्री बन्दै आएकी अभिनेत्री स्वस्तिमा खड्काले नेपाली रजतपटमा १० वर्ष पूरा गरेकी छन् । मंगलबार बिहान फेसबुकमा एक स्टाटस लेख्दै स्वस्तिमाले आफ्नो यो दशक लामो करियरलाई १० दिन जस्तो लागेकी बताएकी छन् ।

‘१० दिनअघि जस्तै लाग्छ । पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो ‘, पोस्टको सुरुआतमै स्वस्तिमाले लेखेकी छन् ।

खड्काले १० वर्ष अगाडि ‘होस्टल रिटन्स’बाट ठुलो पर्दामा पहिलोपटक डेब्यू गरेकी हुन् । त्यसयताको स्वस्तिमाले अभिनय गरेक १९ सिनेमा रिलिज भइसकेका छन्। १९ मध्य केही सिनेमामा भने उनको अतिथि भूमिका रहेको छ ।

सिनेमापिच्छे पात्रहरिसार फरक देखिन माहिर अभिनेत्रीको छवि बनाएकी स्वस्तिमा पछिल्लो समय धेरै निर्देशक तथा निर्माताको पहिलो रोजाइकी अभिनेत्री बन्दै आइरहेकी छन् । करियरका हिसाबले स्वस्तिमाको एक दशक स्मरणिय छ । सिनेमा बाहेक विभिन्न उत्पादनका विज्ञापनमा स्वस्तिमाले आफूलाई व्यस्त राखेकी छन् ।

निर्देशक निश्चल बस्नेतको पत्नी भइकन पनि आफ्नो बेग्लै र उचो पहिचान बनाउन उनी सफल रहेकी छन् ।

आजको पोस्टमा स्वस्तिमाले यो दशकमा सिकेका कुराले आफूलाई आउने कयौं दशकसम्म डोर्‍याइरहने समेत उल्लेख गरेकी छन् ।

‘यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दसौं वर्षलाई डोर्‍याउने छन्। केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो। म अहिले सिनेमाको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ, उनले लेखेकी छन् ।

हाल स्वस्तिमा आफ्नो असोज १३ गते रिलिज हुने ‘हरिबहादुरको जुत्ता’को प्रचारमा जुटेकी छन्  भने केही समयपछि ‘लाली बजार’को सुटिङमा व्यस्त हुनेछिन् ।

यस्तो छ उनले लेखेको फेसबुक स्टाटस् ।

१० दिनअघि जस्तै लाग्छ। पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो। समयको सुइँ खट्खट खट्खट् दौडिएर १० वर्षको किशोर भइसकेछ। म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु।
म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ। यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ। “ओहो ! यति धेरै गरिसकें” भन्ने भावले अहंकारी बनाउँछ। “हत्तेरी ! केही गर्नै सकिनँ” भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ। म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ। त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें। तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो। फर्किएर हेर्दा मलाई आनन्द लाग्यो।
यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने मेरा दसौं वर्षलाई डोर्‍याउने छन्। केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो। म अहिले सिनेमाको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ। यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु।
मलाई स्वीकार्नुभएकोमा धन्यवाद! मलाई ‘नाइ’ भन्नुभएकोमा धन्यवाद! ममा सन्देह गर्नुभएकोमा धन्यवाद। म लड्दा उठाएर हिँडाइदिनुभएकोमा धन्यवाद!
र, मेरो सपनाको अंश बनिदिनुभएकोमा धन्यवाद!
म प्रेमले सधैं यसैगरी भिजिरहन पाऊँ!

सम्बन्धित समाचार

सबै