काठमाडौं । बलिउड फिल्म बजारमा चलिरहेको प्रतिस्पर्धाबीच अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘भूत बंगला’ पोस्टपोन गरिएको छ। निर्देशक प्रियदर्शन र निर्माता एकता कपूरको सहकार्यमा बनेको यो फिल्मको रिलिज मिति अब पछि सारिएको हो।
फिल्म पोस्टपोन हुनुको मुख्य कारण बक्स अफिसमा अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर २’को बलियो प्रदर्शनलाई मानिएको छ। उक्त फिल्मको लगातार सफलताले दर्शक आकर्षण उच्च बनाइराखेकाले प्रतिस्पर्धा बढ्ने अनुमानपछि ‘भूत बंगला’को प्रदर्शन केही समयका लागि सारिएको बताइएको छ।
निर्माण पक्षका अनुसार बजारको अवस्था र दर्शकको चापलाई मध्यनजर गर्दै उपयुक्त समय छनोट गर्न रिलिज स्थगित गरिएको हो। फिल्म टिमले नयाँ मिति छिट्टै घोषणा गर्ने तयारी गरेको छ।
‘भूत बंगला’लाई कमेडी–होरर जनरामा तयार गरिएको फिल्म मानिएको छ, जसले पहिले नै दर्शकमाझ उत्सुकता सिर्जना गरिसकेको थियो। तर हालको बक्स अफिस ट्रेन्डका कारण निर्माताले रणनीतिक निर्णय लिएको बताइएको छ।